उर्लाबारी नगरपालिकाले आफ्नो ऐतिहासिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक तथा विकासगत पहिचान झल्काउने नगर प्रतीक (चिन्हं) र नगर गान तयार गर्नका लागि दोस्रो पटक सार्वजनिक सूचना आह्वान गरेको छ । नगरपालिकाले इच्छुक नेपाली नागरिक, संघ –संस्था तथा स्रष्टाहरबाट आगामी २०८३ असोज २२ गते कार्यालय समयभित्र प्रस्ताव पेस गर्न अनुरोध गरेको हो ।
यसअघि २०८३ साउन ११ गते प्रकाशित सूचनाका आधारमा प्राप्त भएका प्रस्तावहरुमाथि मूल्यांकन गर्दा उक्त विषय दीर्घकालीन रुपमा नगरपालिकाको गौरसँग जोडिएकाले थप उत्कृष्ट बनाउन र अरु नयाँ प्रस्तावहरुलाई समेत समावेश गर्ने उद्देश्यले यो दोस्रो पटक सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले जारी गरेको सूचना अनुसार लोगो (प्रतीक चिन्ह)को हकमा उर्लाबारीको भूगोल, प्राकृतिक तथा सांस्कृतिक पहिचान झल्कने हुनुपर्नेछ । त्यसैगरी नगर गानको हकमा भने रचना नेपाली भाषामा, लयबद्ध र गेयात्मक हुनुपर्ने तथा शब्द संख्या अधिकतम ६० शब्दसम्म मात्र हुनुपर्ने नियम तोकिएको छ । नगर गानले उर्लाबारी नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक तथा विकासगत पक्षहरुको भावना समेटेको हुनुपर्नेछ र यो पूर्ण रुपमा मौलिक हुनुपर्नेछ । भाषा सरल र शुद्ध हुनुका साथै रचनामा प्रयोग भएका शब्दहरू नेपाली जनजिव्रोमा प्रचलनमा रहेको हुनुपर्ने सूचनामा उल्लेख छ । इच्छुक रचनाकारहरुले आफ्नो रचना नेपाली युनिकोड फन्टमा टाइप गरी पीडीएफ फाइल बनाई नगरपालिकाको आधिकारिक इमेल urlabarinagarpalika@gmail.com मा पठाउन वा खामबन्दी गरी उर्लाबारी नगरपालिकाको कार्यालयमा सिधै पेस गर्न सक्नेछन् । यसका साथै रचनाकारले आफ्नो रचनाको साथमा नाम, ठेगाना, मोबाइल नम्बर, इमेल आईडी, शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रतिलिपि सहितको निवेदन अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ । तोकिएको समयभित्र प्राप्त भएका नगर प्रतीक र नगर गानलाई विज्ञहरुको परामर्शमा छनोट समितिबाट उत्कृष्ट रचनाका रूपमा छनोट गरिनेछ र यसरी छनोट भएका नगर प्रतीक तथा नगर गानका रचनाकारलाई नगरपालिकाद्वारा सम्मान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिग्राम काफ्लेले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।