दिपेन्द्र लुईटेल
भोजपुर, ३१ भदौ । भोजपुरको ऐतिहासिक टक्सार बजारस्थित यशोधरा माध्यमिक विद्यालयले ७५औँ वर्षगाँठका अवसरमा तीनदिने हीरक महोत्सव आयोजना गर्ने भएको छ।
विद्यालयका प्रधानाध्यापक विष्णुकुमार राईका अनुसार मंसिर १५, १६ र १७ गते विविध कार्यक्रमसहित महोत्सव सञ्चालन हुनेछ। महोत्सवमा पूर्वविद्यार्थी पुनर्मिलन, रक्तदान, वृक्षरोपण, सांस्कृतिक झाँकी, शैक्षिक प्रदर्शनी, सम्मान तथा पुरस्कार वितरणलगायत कार्यक्रम राखिएको छ।

महोत्सवका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष विमल रणपहेलीको संयोजकत्वमा ५६ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। स्मारिका प्रकाशन तथा आर्थिक व्यवस्थापनका लागि छुट्टाछुट्टै उपसमिति पनि गठन गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले महोत्सवका अवसरमा पूर्वविद्यार्थी, पूर्वशिक्षक तथा विद्यालयसँग सम्बन्धित व्यक्तिहरूलाई सहभागी हुन आग्रह गरेको छ। आर्थिक स्रोत जुटेमा विद्यालय परिसरमा स्मारक निर्माण गर्ने योजना समेत रहेको छ।

२००९ सालमा बालिका विद्यालयका रूपमा स्थापना भएको यशोधरा हाल बालविकासदेखि कक्षा १२ सम्म सञ्चालनमा छ। करिब ४ सय विद्यार्थी अध्ययनरत विद्यालयमा कक्षा ९ देखि १२ सम्म बाली विज्ञान विषयको प्राविधिक शिक्षा तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय स्रोत कक्षा सञ्चालन भइरहेको छ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।