जिल्ला प्रहरी कार्यालय भोजपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरको सहकार्यमा स्थापना गरिएको सहायता कक्षको प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले औपचारिक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख ज्ञानबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यातायात व्यवसायी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यात्राका क्रममा यात्रुहरूले भोग्नुपर्ने समस्या समाधान, आवश्यक सूचना उपलब्ध गराउने, यात्रुको सुरक्षा सुनिश्चित गर्ने तथा सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
सहायता कक्षमार्फत यात्रु तथा आम नागरिकलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनुका साथै यात्राका क्रममा देखापर्ने समस्या र गुनासोलाई सहजीकरण गर्ने व्यवस्था मिलाइने बताइएको छ।

भोजपुरमा चाडपर्व तथा अन्य समयमा यात्रुको चाप बढ्ने भएकाले देउरालीमा स्थापना गरिएको यात्रु सहायता कक्षले यात्रुहरूलाई थप सहज र सुरक्षित यात्रा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।