खोटाङमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित जंगलमा मंगलबार दिउँसो करिब २ः३० बजे घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
प्रहरीका अनुसार बाँदर खेदाउने क्रममा ५४ वर्षीय भलबहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली लागेर ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो। गोली श्यामबहादुरको टाउकोमा लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।
घटनाको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोस्ट खार्मीबाट प्रहरी सहायक हवल्दार विक्रम रायको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले गोली चलाउने भलबहादुर तामाङलाई नियन्त्रणमा लिनुका साथै घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएको छ।
मृतकको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको कमान्डमा थप छ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ।
घटनाको कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।