भोजपुर । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अभियानअन्तर्गत अरुण गाउँपालिकामा सञ्चालित राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँ विवरण सङ्कलन विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय भोजपुर र अरुण गाउँपालिकाको समन्वय एवं व्यवस्थापनमा गत भदौ १० गतेदेखि २७ गतेसम्म पालिकाका सातै वडामा अभियान सञ्चालन गरिएको थियो।
अभियानका क्रममा अरुण गाउँपालिकाका ७ वटै वडा तथा पालिका स्तरबाट कुल ५ हजार १ सय जनालाई छापिएर आएका राष्ट्रिय परिचयपत्र (कार्ड) वितरण गरिएको छ भने ४ सय जनाको नयाँ विवरण सङ्कलन गरिएको छ। यससँगै कुल ५ हजार ५ सय नागरिकले भोजपुर जिल्ला सदरमुकाम धाउनुपर्ने सास्तीबाट मुक्ति पाउँदै आफ्नै वडा र पालिका स्तरबाट सहज रूपमा सेवा प्राप्त गरेका छन्।
कार्यक्रम सम्पन्न भएसँगै राष्ट्रिय परिचयपत्रका फोकल पर्सनले अभियानलाई सफल बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी राजन पौडेल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा दर्ता अपरेटरहरूप्रति पालिका अध्यक्ष खत्रीले धन्यवाद व्यक्त गर्नुभएको छ।
गाउँपालिकामा सञ्चालित यो विशेष अभियान आजबाट समापन भएकाले अब राष्ट्रिय परिचयपत्रसम्बन्धी बाँकी तथा नियमित कामहरू जिल्ला प्रशासन कार्यालय, भोजपुरबाट नै निरन्तर सञ्चालन हुने जनाइएको छ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।