भोजपुर । जबरजस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई भोजपुर प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दामा भोजपुर जिल्ला अदालतबाट कैद सजाय तोकिएका अरुण गाउँपालिका–८, दिङ्लालुङ निवासी प्रतिवादी प्रह्लाद खत्रीका छोरा १९ वर्षीय प्रदीप खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार खत्रीविरुद्ध २०७९ मंसिर २६ गते मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा भोजपुर जिल्ला अदालतबाट २०७९ चैत १३ गते फैसला भई उनलाई १९ वर्ष कैद सजाय तोकिएको थियो। तर, फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार सूचीमा रहेका थिए।
जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले २०८३ कात्तिक ६ गते बिहान करिब ३ः२० बजे भोजपुर नगरपालिका–७, बालमन्दिर बजार क्षेत्रबाट उनलाई फेला पारी पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका खत्रीलाई अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक राकेश राईद्वारा जारी प्रेस विज्ञप्तिमा फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइएको उल्लेख छ।


तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।