दिपेन्द्र लुइटेल भोजपुर ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि भोजपुरबाट निर्वाचित ३३ जना प्रतिनिधिमध्ये कैलाशकुमार आले सर्वाधिक मत प्राप्त गर्ने नेता बनेका छन्। खुला प्रतिस्पर्धामा उत्रिएका आलेले ७३१ मत प्राप्त गर्दै निर्वाचनमा आफ्नो बलियो उपस्थिति देखाएका हुन्।
लगातार दुई कार्यकाल भोजपुर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित आलेले महाधिवेशन प्रतिनिधि चयनमा पनि अन्य प्रतिस्पर्धीलाई पछि पारे। विद्यार्थी राजनीतिबाट पार्टीको नेतृत्व तहसम्म आइपुगेका आलेको यो मतपरिणामलाई जिल्लाको कांग्रेस राजनीतिमा उनको प्रभावसँग जोडेर हेरिएको छ।
नेविसंघ भोजपुर बहुमुखी क्याम्पस इकाइ सभापतिबाट राजनीतिक यात्रा अघि बढाएका आलेले नेपाल विद्यार्थी संघ र तरुण दलको जिल्ला अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। पार्टीको जिल्ला सचिव भएर काम गरिसकेका उनी स्थानीय तहको नेतृत्वसँगै पार्टी संगठनमा पनि सक्रिय रहँदै आएका छन्।
निर्वाचनमा पूर्व जिल्ला सभापतिद्वय बालकृष्ण थापा र नन्दमणि राईले क्रमशः ६०८ र ६०६ मत प्राप्त गर्दै दोस्रो र तेस्रो स्थान हासिल गरे। त्यस्तै, टेम्केमैयुङका सरोज बस्नेत ५९८ मतसहित चौथो र वर्तमान जिल्ला सभापति विनोद बान्तवा राई ५९० मतसहित पाँचौँ स्थानमा रहे।
जिल्लामा कुल १ हजार ९४४ मतदाता रहेकामा १ हजार ३११ मत खसेको थियो। खुला, विभिन्न समूह तथा समावेशी कोटासमेतमा करिब ७० जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
महाधिवेशन प्रतिनिधि चयनको परिणामले भोजपुर कांग्रेसभित्र पुराना नेतृत्व र स्थानीय तहबाट उदाएका नेताहरूबीचको प्रतिस्पर्धालाई समेत उजागर गरेको छ। ३३ जना निर्वाचित प्रतिनिधिले अब पार्टीको १५औँ महाधिवेशनमा भोजपुरको प्रतिनिधित्व गर्नेछन्।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।