दिपेन्द्र लुईटेल
भोजपुर । नेपाली कांग्रेस रामप्रसाद राई गाउँपालिकाको १५ औँ अधिवेशनबाट घमचन्द्र दाहाल सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। अधिवेशनले गाउँपालिकास्तरीय पार्टी संगठनका लागि नयाँ नेतृत्व चयन गर्दै दाहालको नेतृत्वमा पदाधिकारीसमेत सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनबाट गाउँपालिकाको उपसभापतिमा हेमन्त राई, महिला उपसभापतिमा प्रतिमा राई तथा सचिवमा नन्दप्रसाद राई सर्वसम्मत निर्वाचित हुनुभएको छ। नेतृत्व चयनका क्रममा पदाधिकारीहरूबीच सहमति कायम भएपछि निर्वाचन प्रक्रियामा जानुपर्ने अवस्था नआएको जनाइएको छ।
नवनिर्वाचित सभापति दाहालसहित पदाधिकारीहरूले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै गाउँपालिकाका विभिन्न वडासम्म पार्टीका गतिविधिलाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँहरूले पार्टीको संगठन विस्तारसँगै कार्यकर्ताबीच आपसी समन्वय र एकतालाई प्राथमिकतामा राखेर आगामी गतिविधि सञ्चालन गर्ने बताउनुभएको छ।
अधिवेशनमा पार्टीको सांगठनिक अवस्था, आगामी दिनमा गर्नुपर्ने गतिविधि तथा स्थानीय तहमा कांग्रेसको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ। नयाँ नेतृत्वले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध गर्दै जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य लिएको छ।
१५औँ अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएसँगै रामप्रसाद राई गाउँपालिकामा नेपाली कांग्रेसको संगठनात्मक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ। नवनिर्वाचित नेतृत्वले पार्टीको नीति, विचार र कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउँदै संगठनलाई चलायमान बनाउने जनाएको छ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।