उर्लाबारी – उर्लाबारी नगरपालिकामा यस वर्षको विश्वकर्मा पूजा भव्यताका साथ मनाइएको छ । सो अवसरमा नगरपालिकाका कार्यवाहक मेयर मीना खतिवडा पौडेल र प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले विशेष पूजा अर्चना गर्नुभएको थियो । पूजा आराधना पश्चात् नगरपालिका मातहतमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई टीका तथा प्रसाद वितरण गरिएको थियो ।

उक्त धार्मिक एवं सांस्कृतिक कार्यक्रममा नगरपालिकाका उपसचिव एवं शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले लगायत अन्य विभिन्न शाखाका कर्मचारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । विश्वकर्मा पूजाको यसै विशेष अवसरमा नगरपालिकाको जिन्सी शाखाका तर्फबाट अधिकृत सुदेन सुवेदीले नगरपालिकासँग रहेका सवारी साधनहरूको मौज्दात विवरण समेत सार्वजनिक गर्नुभएको छ । उहाँका अनुसार हाल उर्लाबारी नगरपालिकासँग आन्तरिक कामकाज, सेवा प्रवाह र आपतकालीन उद्धारका लागि जम्मा ४९ वटा सवारी साधनहरू सञ्चालनमा रहेका छन् । ती साधनहरूमा एक थान दमकल, चार थान हलुका सवारी साधन, एक थान एम्बुलेन्स, एक थान शववाहन, एक थान ट्रिपर, एक थान सफारी र अन्य मोटरसाइकलहरु रहेका छन् । मेसिनरी तथा सवारी साधनका देवता भगवान विश्वकर्माको पूजा गर्दै नगरपालिकाले आफ्ना साधनहरूको दिगो उपयोग र संरक्षणको कामना समेत गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।